अर्थ

घट्यो ग्लोबल आइएमई बैंकको नाफा



काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विवरणअनुसार चैत मसान्तसम्म बैंकले १३ अर्ब दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले खराब कर्जा बढ्दा नाफामा त्यसको प्रत्यक्ष असर देखिएको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.७४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा ३.९६ प्रतिशत थियो ।

बैंकले चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकले चैत मसान्तसम्म चार अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।