भक्तपुर, ९ वैशाख । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले नेपाली जनताको अभिभावक भएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, भक्तपुर जिल्ला कमिटीले शनिवार आयोजना गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना तथा बृहत चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी निर्वाचनमा भक्तपुर जिल्लामा एमालेको लालकिल्ला हुने उद्घोष गर्नुभयो । २०७९ सालको निर्वाचनमा विविध कारणले जिल्लामा एमाले हार्नु परेको स्मरण गराउँदै उहाँले आगामी ०८४ सालको निर्वाचनमा ०७४ को भन्दा बढी जीत हासिल गर्ने दावी गर्नुभयो । विपक्षी दलका निर्वाचित जनप्रतिनिधिहरुले जनताको पक्षमा कुनै पनि काम नगरेर जनताले विगतको जनप्रतिनिधिहरुले सम्झिरहेको उल्लेख गर्दै नेता बस्नेतले भक्तपुर विकास र समृद्धिको हिसावले जनप्रतिनिधि विहिन भएता पनि एमालेले हारेता पनि जनतामा निराश हुन नदिने स्पष्ट पार्नुभयो ।
‘नेकपा एमाले भक्तपुरमा विग्रन दिइदैन । आगामी ०८४ को निर्वाचनमा सानदार ढंगले विजय हासिल गर्ने गरी अगाडी बढ्छ । ०७४ को भन्दा अझ वढी राम्रो बनाइन्छ । यसमा विपक्षी दलहरुले पनि हामीलाई सहज बनाइदिएका छन् । जीतेका सांसदहरु कुन दुलोमा लुकेका छन्, अनुहार देखिने छोड्यो । बोलीचाली बन्द भयो, विकास निर्माण पनि समाप्त भयो, भक्तपुर अभिभावक विहिन जिल्ला बनेको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले एमाले हार्यो होला तर हार आएर हिड्दैन । नेपाली जनताको अभिभावक भएर हिड्छ र एमालेका नेताहरुले हार र जीतलाई ठूलो कुरा मान्दैनन् । जनताको सेवा, विकास र सामाजिक न्यायको पक्षमा जहिले पनि अगाडी बढ्छौं । यो हाम्रो संकल्प हो । त्यसैले एमालेलाई विग्रने छुट छैन, हार्ने छुट छैन, हामी जहिले पनि जित्छौं । यसमा कुनै चिन्ता लिनुपर्ने आवश्यकता छैन ।’
वर्तमान सरकारले भ्रष्टाचार र कुशासनको अन्त्य र देशको अर्थतन्त्र सुधार गर्न एमालेको मुख्य भूमिका हुने बताउँदै उहाँले गठबन्धनलाई निर्वाचनसम्म लैजान एमाले इमान्दार भएर लाग्ने स्पष्ट पार्नुभयो । अघिल्लो गठबन्धनले राष्ट्रियालाई कमजोर बनाउँदै मुलुकमा भ्रष्टाचार र कुशासनले व्याप्त बनाएकाले नयाँ सत्ता समिकरण बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले के स्पष्ट पारेको छ भने यो सत्ता गठबन्धन होइन, यो सत्ता समिकरण हो । यो सत्ता समिकरण बनाउनुपर्ने हाम्रो बाध्यता थियो । किन भने नेकपा एमाले र राष्ट्रिय शक्तिहरुको विरुद्ध अराष्ट्रिय तत्वहरु गठबन्धन सामेल भएका थिए । मुलुकको राष्ट्रियता कमजोर बनाउन खोज्दै थिए । मुलुकमा भ्रष्टाचार र कुशासन लागु गरिरहेका थिए । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई समाप्त पार्न खोज्दै थिए । त्यसले हाम्रो अभियानलाई बचाउनु पर्ने थियो । पुरानो गठबन्धन थोत्रो भइरहेको थियो, त्यसलाई भत्काउन हाम्रो बाध्यता थियो ।’
एमालेको देशभर जिल्ला अधिवेशन भइरहेको उल्लेख गर्दै नेता बस्नेतले जिल्ला अधिवेशनमा अधिकतम् सर्वसम्मतको नेतृत्व छनोट गर्ने नभएमा प्रतिष्पर्धाको माध्यमबाट आएका निर्णयलाई स्वीकानुपर्ने बताउनुभयो । अधिवेशनमा स्वच्छ प्रतिष्पर्धा हुनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले प्रतिष्पर्धालाई चरम गुटवन्दी बनाउने छुट कसैलाई पनि नभएको बताउनुभयो । आधारभुत तहको अन्तरविरोधलाई रोक्नुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिमा स्थायी सत्रु हुँदैन भन्ने मान्यतालाई नेतृत्वमा लागु हुने भएता पनि आधारभुत तहका अन्तविरोधलाई धेरै प्रकट हुन नहुने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष रविन थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, संघका केन्द्रीय स्थायी कमिटी सदस्य राजु लबञ्जर, जिल्ला इन्चार्ज पुष्पराज बस्नेतलगायतले संघको आगामी भूमिका, जिल्ला अधिवेशनमा युवाको सहभागिताको शुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै अधिवेशनमा प्रतिष्पर्धाको नाममा गुटवन्दी भए युवाहरुले अस्वीकार गर्ने चेतावनी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्