अर्थ

नेप्से परिसूचक ५.५८ अंकले घट्यो



काठमाडौँ, २३ जेठ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा बन्द भएको छ ।

बजार घटे पनि बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ ४० पैसा बढेर ९९४ रुपैयाँ ४० रुपैयाँ कायम भएको छ ।

बुधबार सेयर कारोबार रकममा पनि कमी आएको छ । बुधबार कारोबार रकम ९१ करोड ७३ लाख रुपैयाँले कमी आएको हो । बुधबार तीन अर्ब ९९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने मंगलबार चार अर्ब आठ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ भने लगानी समूहको परिसूचक भने स्थिर छ । बाँकी आठ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि म्युचुअल फन्डको भएको छ । यो समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको हो ।

बुधबार ८३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५८ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।