राजनीति

राजदूत फिर्ता बोलाउने कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घट्यो : एनपी साउद



काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद एनपी साउदले अनाहकमा ११ जना राजदूत फिर्ता बोलाइएको भन्दै आपत्ति जनाएका छन् । 

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजदूत फिर्ताको कारण राजनीति नियुक्ति भएको भनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफप्रति पनि आपत्ति जनाए । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले यस्ता घटनाले कुटनीतिक र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत घटेको उल्लेख गरेको बताए ।  

उनले भने, “नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने यही बेला ११ राष्ट्रबाट ११ जना राजदुत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ,” । 


रास्वपालक्षित प्रतिकृया दिँदै राजनीतिक दलले एनजीओमा छनोट गरेजस्तो राजदूत छनोटको विषय बनाएको उनले बताए । “एनजीओमा छनोट गरेको विषय बनाएर सूचना र विज्ञापन निकालेर दलले विज्ञापन निकालेर राजदूत खोज्दछ । यसले विश्वमा प्रतिष्ठामा आँच पुगेको छ,” उनले भने ।