शैक्षिक

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने



काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको हो । अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेको हो । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएको छ ।

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।