विश्व

बेलायतमा लेबर पार्टीको फराकिलो जित,सुनकले स्वीकारे पराजय



काठमाण्डौ,२१ असार । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले जनाएको छ ।कुनै पनि मिडिया आउटलेटले ३२६ सिटको सीमा पुगेको घोषणा गर्नुअघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम निर्वाचनमा हार भएको स्वीकार गरेका थिए ।

बीबीसी, आईटीबी, र स्काई न्यूजले गरेको एक्जिट पोलले केही घण्टा अघि लेबरले ४१० सिटको शानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको सङ्ख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो ।

लेबर पार्टीले यो आम चुनाव जितेको बताउँदै नेता स्टार्मरलाई जितका लागि बधाई दिएको सुनकले उल्लेख गरेका छन् । बेलायती जनताले गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै उनले हारको जिम्मेवारी लिने उल्लेख गरे ।

प्रधानमन्त्री सुनकले राजा चार्ल्स तृतीयलाई भेटी चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ । यसले स्टार्मरललाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्ग प्रशस्त गर्नेछ ।
स्टार्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्य लन्डनमा जनतालार्ई सम्बोधन गर्दै भने, ुहामीले जित्यौँ । तपाईंले यसका लागि अभियान चलाउनुभयो, सङ्घर्ष गर्नुभयो । जितको अवस्था आइपुगेकोले परिवर्तनको अनुभूति छिट्टै हुनेछ ।

उनले भने, बेलायती जनताले लेबर पार्टी र यसको नेतृत्वलाई विश्वास गरेका छन् र हामी उनीहरूको हितको लागि काम गर्न सक्छौँ ।नेता स्टार्मरले लेबरको जितमा योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकलगायत मतदाताप्रति आभार प्रकट गरेका छन् ।