राजनीति

रात्रि बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव



काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ ।

आज बिहान नारायणगढ(मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । यो विषयमा यातायात व्यवसयीहरूसँग छलफल गर्न लागेको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा. भीष्मकुमार भूसालले जानकारी दिए । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।

चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो । सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए । सोही विषयमा छलफल गर्न यातायात व्यवसायीहरूलाई बोलाइएको हो ।