राजनीति

भानुभक्तको जन्मस्थललाई एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्छ : राष्ट्रपति



काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको  जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ  जन्मजयन्तीका अवसरमा राष्ट्रपति  पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबिच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उनले उल्लेख गरे ।

आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उनको भनाइ छ ।