काठमाडौँ, ३१ असार । फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।
स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । सोमबार जर्मनीको बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरे । इंग्ल्यान्डका कोल पाल्मेरले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४७औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता बनाएको थियो । लामिन यमलको पासलाई विलियम्सले १८ यार्ड बक्सभित्रबाट जाली चुमाएका थिए । तर, ७३औँ मिनेटमा पाल्मेरले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । जुड बेडिङ्घमले पेनाल्टी बक्सबाट मिलाएको बलमा पाल्मेरले १८ यार्ड बक्स बाहिरबाट ‘सेकेन्ड बार’मा उत्कृष्ट गोल गरेका थिए ।
स्पेनबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका ओयारजबल निर्णायक बने । ६८औँ मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका ओयारजबलले खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । मार्क कुकुरेयाको ‘लोअर क्रस’ मा ओयारजबलले पेनाल्टी बक्सबाट ‘फस्र्ट टच’ गोल गरे । यही गोल निर्णायक गोल बन्दा स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि चुमेको हो । युरोको पछिल्लो पाँच संस्करणमध्ये स्पेनले तीन संस्करणको उपाधि जितेको छ ।
इंग्ल्यान्ड भने लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि युरो–२०२० को फाइनलमा प्रवेश गरे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इंग्ल्यान्ड उपविजेतामा सीमित बनेको थियो ।










प्रतिक्रिया दिनुहोस्