राजनीति

प्रधानमन्त्रीद्वारा विदेश भ्रमणबारे तीनवटा निर्देशन



काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् ।

एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने । दुई– जानैपर्ने भ्रमण भए  अवधि छोट्याउनैपर्ने । तीन– भ्रमण टोलीमा महिला हुनैपर्ने । ‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘तर रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिनुभएको छ ।’

सोमबारको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योगमन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुदमन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका हुन् ।