राजनीति

महानगरको छात्रवृत्ति विज्ञानमा कोटाभन्दा धेरै, चार संकायमा विद्यार्थी अपुग



काठमाडौँ, १० साउन । कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले लिएको परीक्षामा विज्ञान समूहतर्फ कोटाभन्दा चौबर बढी विद्यार्थी मेरिटमा परेका छन् । व्यवस्थापन, कानुन, मानविकी र शिक्षा समूहमा भने छात्रवृत्ति कोटाभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

महानगरले सोमबार सार्वजनिक गरेको छात्रवृत्ति परीक्षाको नतिजाअनुसार विज्ञानतर्फ १ हजार ७ सय ५७ कोटाका लागि ६ हजार ७ सय २० विद्यार्थी छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएका छन् । विज्ञान समूहको परीक्षामा ७ हजार ६ सय ६५ विद्यार्थी सहभागी थिए । महानगरको शिक्षा व्यवस्थापनतर्फ २ हजार ४ सय ९३ कोटामा १ हजार ३ सय ८१ विद्यार्थी मात्रै छात्रवृत्तिका लागि लिइएको परीक्षामा उत्तीर्ण भएका छन् । कानुनमा १ सय ३६ सिटका लागि ७३, शिक्षामा ७० सिटमा १५ र मानविकीमा १७३ सिटका लागि ८ जना मात्रै उत्तीर्ण भएका छन् ।

विज्ञानतर्फ करिब साढे ८ हजार, व्यवस्थापनमा २ हजार ५ सय, कानुनमा १५३, शिक्षामा ३७ र मानविकीमा १३ जनाको आवेदन परेको थियो । काठमाडौं महानगरपालिकाले सबै समूहमा गरी ४ हजार ६ सय २९ कोटामा छात्रवृत्ति उपलब्ध गराउन परीक्षा लिएको थियो । निजी विद्यालयले भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थाअनुसार महानगरले एकीकृत परीक्षा लिएर विद्यार्थी छनोट गर्दै आएको छ ।

महानगर प्रमुख बालेन शाहका सचिवालय सदस्य सस्मित पोखरेलले कोटा खेर जान नदिन एउटा समूहमा उत्तीर्ण विद्यार्थीले अर्को समूहमा समेत भर्ना पाउने व्यवस्था गरिएको बताए । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई साउन १३ सम्म भर्ना हुन शिक्षण संस्थालाई सिफारिस गरिने भएको छ । महानगरपालिकाभित्र ३९० निजी विद्यालय सञ्चालनमा छन्, जसमध्ये १०४ वटामा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटामा मानविकी विषय अध्यापन हुन्छ ।