काठमाडौँ, १० साउन । नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्नेसम्बन्धी त्रिपक्षीय सम्झौता तत्कालका लागि स्थगित भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले सम्झौताको मिति पछि सार्न बंगलादेशले पत्र पठाएको बताए । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि सम्झौता स्थगित भएको हो । नेपाल, भारत र बंगलादेशबीच साउन १३ मा सम्झौता गर्ने तयारी थियो । नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने जनाइएको थियो । लगत्तै पोखरामा नेपाल र बंगलादेशको सहसचिवस्तरीय र सचिवस्तरीय बैठक बस्नेसमेत तय भएको थियो ।
विद्युत् प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर (१ अर्ब २३ करोड) आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्