काठमाडौँ, १० साउन । गएको पाँच दशकमा नेपालमा औसत मूल्यवृद्धि दर (मुद्रास्फीति) ८.३२ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उक्त अवधिमा मूल्यवृद्धिमा निकै उतारचढाव आए पनि औसतमा एकल अंक (सवा ८ प्रतिशत) कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो अध्ययन गरेको हो ।
पछिल्लो पाँच दशकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतका तरकारी, दाल तथा गेडागुडी, चिनी, मदिरालगायतको मूल्यवृद्धि केही बढी देखिएको छ । तर, गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, कपडाजन्य तथा जुत्ता–चप्पल, सञ्चारलगायत वस्तु तथा सेवाको मूल्य तुलनात्मक रूपमा कम रहेकाले औसतमा मूल्यवृद्धि एकल अंक कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त अवधिमा नेपालको औसत मूल्यवृद्धि दर मध्यम (मोडरेट) खालको रहेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘पछिल्लो समय औसत मूल्यवृद्धि दर कम भएको छ,’ उनले भने, ‘राष्ट्र बैंक ऐन २०५८ आएपछि मौद्रिक नीति ल्याउन थालिएको हो । त्यसपछि मूल्यवृद्धिका पनि लक्ष्य तथा सीमा तोक्न थालियो ।’ पछिल्ला दशकमा मुद्रास्फीति गणना, लक्ष्य निर्धारणलगायत धेरै पक्षमा सुधार भएको उनले बताए ।
पछिल्लो ५० वर्षको अवधिलाई तीन चरणमा वर्गीकरण गरेर मूल्यवृद्धिको विश्लेषण गरिएको छ । आर्थिक वर्ष सन् १९७३/७४ देखि १९८९/९० सम्मको अवधिलाई आर्थिक उदारीकरणको सुरुवात, सन् १९९०/९१ देखि २००५/०६ सम्म नयाँ संविधान घोषणा र सन् २००६/०७ देखि २०२२/२३ सम्म लोकतान्त्रिक आन्दोलनपछि भनी वर्गीकरण गरिएको हो ।
अध्ययनले समेटेको पहिलो १६ वर्षमा मुलुकको औसत मूल्यवृद्धि दर ९.८८ प्रतिशत छ भने खाद्य तथा पेय पदार्थ समूहको औसत मूल्यवृद्धि १०.०९ र गैरखाद्य तथा सेवा समूहको ९.६९ प्रतिशत छ । तत्कालीन समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै कर्जा विस्तारमार्फत मुद्रा आपूर्ति बढेकाले पनि पहिलो चरणको सुरुमा मूल्यवृद्धि दोहोरो अंकको थियो । त्यसपछि मुलुकमा बाली भित्र्याउन अनुकूल मौसम, भारतमा मूल्यवृद्धिमा कमी, कर्जा विस्तारमा कसिलो नीतिलगायत कारणले समग्र मूल्यवृद्धि घटेको थियो ।
दोस्रो चरणसम्ममा औसत मूल्यवृद्धि दर ७.६४ प्रतिशत थियो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको औसत मूल्यवृद्धि ७.४६ र गैरखाद्य तथा सेवा समूहको ७.७६ प्रतिशत छ । यसले पहिलो चरणको तुलनामा दोस्रो चरणमा औसत मूल्यवृद्धि दरमा कमी आएको देखाउँछ । यद्यपि सन् १९९१/९२ मा औसत मूल्यवृद्धि दर २१.०५ प्रतिशत थियो ।
त्यतिबेला सरकारले चालु खाता परिवर्त्य नीति अवलम्बन गरेकाले अमेरिकी डलर र अरू परिवर्त्य विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँको मूल्य अवमूल्यन (कमी आएको) भएकाले मूल्यवृद्धि दर अकासिएको थियो । आर्थिक उदारीकरणको सुरुवातसँगै सरकारले दूध, पेट्रोलियम पदार्थ, शिक्षा शुल्क, टेलिफोन शुल्क र बिजुलीलगायत विभिन्न वस्तु तथा सेवाको अधिकतम मूल्य तोकिदिन थालेपछि मूल्यवृद्धि दरमा कमी आएको थियो ।
सन् १९९१/९२ पछिका वर्षमा मूल्यवृद्धि दर प्रभावकारी रूपमा नियन्त्रण रहेको देखिन्छ । त्यसपछिका पाँच आर्थिक वर्षमा नेपालको मूल्यवृद्धि दर औसत ५ प्रतिशतभन्दा कम थियो । सन् २०००/०१ मा नेपालको औसत मूल्यवृद्धि दर २.४३ प्रतिशत थियो । त्यतिबेला मूल्यवृद्धि न्यून हुनुमा भारतमा मूल्यवृद्धि दरमा कमी आउनु, अनुकूल मौसमका कारण नेपालमा कृषि उत्पादन बढ्नुलगायत थिए ।
यस्तै, सन् २००६/०७ देखि २०२२/२३ सम्म नेपालको औसत मूल्य वृद्धिदर ७.४१ प्रतिशत थियो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको औसत मूल्यवृद्धि ८.६० र गैरखाद्य तथा सेवा समूहको ६.३९ प्रतिशत छ । उक्त अवधिमा मूल्यवृद्धिका क्षेत्रमा उल्लेखनीय घटनाहरू देखिएका छन् ।
सन् २००८/०९ मा औसत मूल्यवृद्धि दर १२.६३ प्रतिशत थियो । लोडसेडिङ, राजनीतिक आन्दोलन, उद्योगहरूमा श्रमिकहरूको आन्दोलन, व्यवसायीको कार्टेलिङलगायत कारण त्यतिबेला मूल्य दोहोरो अंकमा पुगेको थियो ।
यद्यपि सन् २०१५/१६ मा औसत मूल्यवृद्धि एकल अंक ९.९३ प्रतिशतमा झरेको थियो । त्यही समयमा नेपालमा विनाशकारी भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपत्तिलगायत कारण पनि त्यतिबेला केही वर्षसम्म खाद्य र गैरखाद्य उपसमूहको मूल्यवृद्धि दर दोहोरो अंकमा रहेको प्रतिवेदनले देखाएको छ । यद्यपि गएको पाँच दशकमध्ये अघिल्लाको तुलनामा पछिल्ला दशकमा मूल्यवृद्धि दर घट्दै गएको देखाएको छ ।
अध्ययनले सन् २०२२/२३ मा औसत मूल्यवृद्धि दर ७.७४ प्रतिशत रहेको देखाएको छ । उक्त अवधिको औसत मूल्यवृद्धिमा सबैभन्दा धेरै ३६.३ प्रतिशत योगदान खाद्य तथा पेय पदार्थ समूहको छ । उक्त अवधिमा घरायसी सामग्रीको योगदान २४.२ प्रतिशत, यातायातको ८.७ प्रतिशत, शिक्षाको ९ प्रतिशत र अन्यको करिब २२ प्रतिशत योगदान रहेको प्रतिवेदनले औंल्याएको छ । समग्रमा कुल मूल्यवृद्धिमा खाद्य तथा पेय पदार्थ समूहको योगदान धेरै रहँदै आएको देखिन्छ ।
राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार ०८१ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ४.१७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ६.८३ प्रतिशत थियो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ५.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको २.९४ प्रतिशत छ । यो समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२, दाल तथा गेडागुडीको ११.७६, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ र गैरमदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । उक्त अवधिमा घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।
गत जेठमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ता–चप्पलको ३.४६ प्रतिशतले बढेको छ । तर, सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । ०८१ जेठमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ४.२५, तराईको ३.८२, पहाडको ४.६३ र हिमालको ४.७७ प्रतिशत छ । गत वर्षको सोही महिनामा काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर ७.१९, तराईको ६.९३, पहाडको ६.२८ र हिमालको ६.३९ प्रतिशत थियो ।
यस्तै, ०८१ जेठमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि दर (मुद्रास्फीति) ५.४८ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ३.१० प्रतिशत थियो । गत जेठमा उपभोग्य वस्तुको ६.८७, मध्यवर्ती वस्तुको ५.३२ र पुँजीगत वस्तुको १.६६ वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.८७, ५.३२ प्रतिशत र १.६६ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.१२ प्रतिशतले घटेको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्