समाचार

तिनाउमा डुबेर एक बालकको मृत्यु



काठमाडौँ, १२ साउन । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको हो ।

आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् । दुवै बालक दिदी बहिनीका छोराहरु हुन् । पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए ।

नदीमा हराएका विप्रन पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।