राजनीति

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ



कास्की, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उल्लेख गरे । मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताए ।

उनले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ । संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौँ । यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।’