राजनीति

नवउदारवादी शैलीले मुलुकको विकास र समृद्धि सम्भव छैन : पूर्वमन्त्री बस्नेत



लम्जुङ, १२ साउन । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो नेपालको इतिहासमा नेकपा एमाले यो धर्ती कै उत्कृष्ट पार्टी प्रमणीत भएको दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको खुल्लासत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनताको पक्षमा भएका कामहरुले आम नेपाल र नेपालीको शिर उचो भएको इतिहास साक्षि रहेको बताउनुभयो ।

‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका मुलुकको समृद्धिको इतिहास स्वर्णिम अक्षरले लेखियो । चाहे विकास र समृद्धिको पक्षमा होस् वा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिताको पक्षमा होस्, हाम्रो पार्टीले खेलेको भूमिका जनताको मनमनमा छ । अघिल्लो पटक केपी ओली नेतृत्वको सरकारको पालामा विकास गर्नलाई सपना देख्नुपर्छ । सपना देखेपछि मात्र लक्ष्य पुरा गर्न सकिन्छ भन्ने भुकम्पपछिको पुनः निर्माण, स्वास्थ्य विमा, क्यान्सरपीडितलाई उपचार खर्च, विद्यालयमा दिवा खाजा खर्च, एउटा निर्वाचन क्षेत्र एउटा आइसिटी ल्याव, छात्राहरुलाई सेनेटरी प्याड, युवालाई परियोजना तथा सर्टिफिकेट राखेर ऋण, रेलमार्ग, सुरुङमार्गलगायतका विभिन्न प्रकारका भौतिक विकास भए । चुच्चे नक्सा जारी गरि नेपाली इतिहासलाई विश्वसामु आफ्नो पहिचान स्थापित गराइयो । यी विकास र समृद्धिको त प्रतिनिधिमुलक मात्र हुन । यस्ता असंख्य योजनाहरु एमालेको नेतृत्वमा सफल भएका छन् । तसर्थः एमाले यो धर्तीकै उत्कृष्ट पार्टी हो भन्ने प्रमाणीत भयो ।’

मरेको राजतन्त्रले यो मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ, दुर्गा प्रसाईलगायतका नवउदारवादी शैलीले मुलुकको विकास र समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो । नवउदारवाद र पुरातनवादीको विरुद्धमा युवा संघका नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पदका लागि हैन, समाज परिवर्तनका लागि एमालेका नेता तथा कार्यकर्ता लाग्छु भन्ने प्रण गर्नुपर्छ । केपी ओली नेतृत्वको सरकार लाई सफल बनाउनुपर्छ । रवि लामिछानेले नेपालगञ्जमा जेल उद्घाटन गरे । धेरैलाई त्यहाँ थुन्छु भनेका थिए । अब त्यही मलाई थुन्नुहोला भन्नुभयो । ओलीले म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने उद्घोष । अब आफ्नो स्थानीय तह तथा वरपर भएका भ्रष्टचारका गतिविधिहरुलाई युवा संघले कानुनलाई साथ लिई नियन्त्रण गर्नुपर्छ ।’