काठमाडौ १४ साउन । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगेर विदेशतिर भागेकालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएतसंग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।
देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलब्ध गराएको र उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास केसी, कान्ति सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको छ ।
१८ जना अमेरिका, बेलायत, मलेसिया, युरोपलगायत भारत र कति अज्ञात रहेकाले वचतकर्ताहरूले जानकारी गराएको थापाले बताए ।
त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्