अर्थ

अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन



काठमाडौँ, १४ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसद्ले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । 

उनले भने, ‘राजस्व परिचालनका हिसाबले अझै संक्रमणकै अवस्थामा छौँ । चलन चल्तीका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैन’, ‘चलन चल्तीको अभ्यासबाट माथि उठौँ । कमीकमजोरीको स्वमूल्यांकन गरौँ ।  चुहावटलाई नियन्त्रण गरौँ । राजस्व परिचालनमा कमजोरी हुन नदिऔँ ।’ आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । उद्योगी व्यवसायी र करदातालाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आफ्नो कमजोरीसँग डराउने तर कर प्रशासनसँग नडराउने गरी सबै करदातालाई बुझाउन जरुरी रहेको धारणा समेत व्यक्त गरे ।