काठमाडौँ, १४ साउन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।
जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन् । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।
उक्त भेटमा मन्त्री डा.राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन् ।
मन्त्री डा राणाले भनिन्, “उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।”
आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन् ।










प्रतिक्रिया दिनुहोस्