राजनीति

भाषण भन्दा धेरै काम गरेर देखाउनुपर्नेछ : मन्त्री सिंह



काठमाडौँ, १४ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न भाषण भन्दा पनि सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् ।

काठमाडौँमा सोमबार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औँ कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए । सोही अनुसार मौद्रिक नीति आएको पनि उनको भनाइ छ । वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्नेगरी आएको बताए ।

उपप्रधानमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रूपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताए । उनले ऐन, कानुनको कार्यान्वयन नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गरे । उनले सरकारलाई दबाब र सुझाव दिएमात्रै कामहरू छिटो छरितो र व्यवस्थित हुने बताए ।