Banner News

सरकार बनाउन मात्रै होइन, नतिजा दिनेगरी काम गर्न आएका हौं : प्रकाशमान सिंह



काठमाडौँ, २२ साउन । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय छिर्नको लागि मात्रै सरकार गठन नभएको बताएका छन् ।

आज मन्त्रालयमा सञ्चारकर्मीहरू सँगको छलफलमा मन्त्री सिंहले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको र नतिजा दिनेगरी काम गर्न आएको बताएका हुन् ।

उनले भने, ‘सदनमा प्रधानमन्त्रीले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । जनतामा बढेको निराशाबीच सरकारले केही न केही त गर्नैपर्‍यो भन्ने यसको राजनीतिक सन्देश हो ।’ मन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्नयोग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए । शहरी विकास मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उनको भनाइ थियो ।

देशैभरका शहरमा रहेको कनेक्टिभिटीको समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उनले शहरी विकास र व्यवस्थापन सम्बन्धी नीति आवश्यता अनुसार समयसापेक्ष बनाउने पनि बताए ।