अर्थ

बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री अनिश्चित



काठमाडौँ, २३ साउन । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण ४० मेगावाट विद्युत् बिक्री सम्झौता अनिश्चित बनेको छ । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा विद्यार्थीहरूको आन्दोलन चर्किंदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् ।

हसिनाको बहिर्गमनपछि बंगलादेशमा अन्तरिम सरकार निर्माणको प्रक्रिया सुरु भए पनि राजनीतिक अन्योल कायमै छ । जसका कारण ४० मेगावाट बिजुली खरिद–बिक्रीसम्बन्धी नेपाल, भारत र बंगलादेशबीच हुने भनिएको सम्झौता नै अनिश्चित बनेको हो ।

यसअघि साउन १३ मा बिजुली बिक्रीका लागि सम्झौता गर्ने तय भएको थियो । तर आन्दोलन चर्किएसँगै बंगलादेशले साउनको पहिलो साता सम्झौता मिति सार्न भन्दै पत्र पठाएको थियो । त्यसपछि अगस्टको अन्तिमभित्र सम्झौता गर्ने गरी काठमाडौं र ढाकाबीच संवाद चलिरहेको थियो । तर ढाकामा विकसित राजनीतिक घटनाक्रमपछि भने त्यो रोकिएको छ ।

कुनै पनि सम्झौता नयाँ सरकारमा निर्भर गर्ने हुँदा ४० मेगावाट खरिदसम्बन्धी अन्तिम निर्णय अन्योलमा परेको हो । यद्यपि बंगलादेशलाई बिजुली चाहिएको र नेपाललाई बिजुली बेच्नुपरेकाले सरकारले परिवर्तनले खासै प्रभाव नपार्ने मन्त्रालय स्रोतले जनायो । ‘बंगलादेशलाई बिजुली चाहिएको र नेपाललाई बिजुली बेच्नुपरेको छ । त्यस कारण सरकार परिवर्तन भए पनि पोलिसी डिपार्चर हुँदैन भन्ने हाम्रो मान्यता छ,’ स्रोतले भन्यो, ‘बंगलादेशकै अवस्था सामान्य नभएकाले अहिले सम्झौता हुने कुरै भएन । केही भन्न नसकिने अवस्था छ ।’

गत जेठ २९ मा बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो । पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले बोलपत्र स्वीकार गर्ने आशयको पत्र असार २३ मा प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले पनि जवाफमा बोलपत्र स्वीकार गरेको पत्र पठायो । लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो । प्राधिकरणले मस्यौदा पाएसँगै साउन १३ मा सम्झौतापत्रमा हस्ताक्षर गर्ने मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित गत असार २६ पत्र पठाएको थियो । तर बंगलादेशको वर्तमान परिस्थितिका कारण तोकिएको मितिमा सम्झौता हुने सकेन । अहिले सम्झौता नै अनिश्चित बनेको छ ।

खरिद समझदारीअनुसार साउन १८ सम्म ४० मेगावाट बिजुली खरिदबिक्रीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिसक्नुपर्ने थियो । प्राधिकरणले साउन १३ मा हुने भनिएको सम्झौता मिति सार्न पत्र पठाएसँगै प्राधिकरणले बोलपत्रअनुसार सम्झौतापत्रमा हस्ताक्षर गर्ने मिति १२० दिन थप गर्न अनुरोध पत्र पठाइसकेको जनाएको छ ।

‘प्राधिकरणले बीपीडीबीलाई बिड भ्यालिडिटीको समय १२० दिन थप गर्न पत्र पठाइसकेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘बोलपत्र आह्वानको मिति अगस्ट २ अर्थात् साउन १८ सम्म मात्रै थियो । त्यसकारण खरिद प्रक्रियालाई यथावत् राख्नकै लागि समय बढाउन पत्र पठाएका थियौं ।’

सम्झौतापत्रमा हस्ताक्षर गर्ने समय थप गर्न सूचना पठाए पनि बीपीडीबीबाट कुनै प्रतिक्रिया नआएको प्राधिकरणले जनाएको छ । सम्झौता अनिश्चित भए पनि अबको २ महिनाभित्र सम्झौता गर्न सके पनि बिजुली निर्यात गर्न सकिने सम्भावना रहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘तत्काल सम्झौता अनिश्चित भए जस्तै भयो, अबको २ महिनाभित्र सम्झौता भए पनि हामी बिजुली निर्यात गर्न सक्छौं,’ उनले भने ।

विद्युत् प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । प्राधिकरणले माघ दोस्रो साता विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । त्यसपछि प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो ।

नेपालले प्रतियुनिट बिजुलीको मूल्य ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको छ । नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजना गरेको सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश नेपालले प्रस्ताव गरेको मूल्यमा केही घटेर ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले माघको दोस्रो साता बिक्री प्रस्ताव पठाएको थियो । कान्तिपुर