रूपन्देही, २४ साउन । रूपन्देहीको मर्चवार गाउँका दर्जनौं स्थानीय ठगीको सामूहिक पीडामा छन् । यो ठगीको घटनासँग जोडिएको छ, एउटा बैंक । मर्चवारी–३, मा माछापुच्छ्रे बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार खोलेको शाखासहित बैंकिङ सेवाको काउन्टर खोलेको थियो, जसका प्रतिनिधि थिए, मर्चवारी–३, का २९ वर्षीय रमेश चौहान । स्थानीय बचतकर्ताको करोडौं रकम ठगेका चौहान हालै मात्र पक्राउ परे पनि पीडितले कसरी रकम पाउँछन्, टुंगो छैन ।
रूपन्देहीको सीमावर्ती सम्मरीमाई–४ की जैनव खातुन गद्दी मुसलमानसँग यति बेला दोहोरो पीडामा छिन् । ४ वर्षअघि कतारमा मजदुरी गर्दै गरेका उनका श्रीमान् मोहम्द इब्राइमको मृत्यु भएको थियो । चार छोरी र एक छोरा हुर्काइरहेकी उनले पतिको मृत्युपछि कम्पनी र वैदेशिक रोजगार बोर्डबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति पाइन् । उनीसँग त्यति बेला बचत रकम र बाख्रा पालनबाट भएको कमाइ गरेर थप ९ लाख रुपैयाँ पनि थियो । यो सबै रकम उनले यही बैंकको काउन्टरमा जम्मा गरेकी थिइन् ।
तीन महिनाअघि बैंकको काउन्टरमा रकम आफ्नो बचत लिन जाँदा जैनवले थाहा पाइन्, उनको खातामा त जम्मा ‘दुई हजार ५ सय रुपैयाँ मात्रै छ ।’ यो खबरपछि जैनव आफू ठगिएको भन्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेकी थिइन् । जैनवसँग यतिबेला पैसा जम्मा गरेपछि प्राप्त केही कागजात पनि छन् । तर ती कागजातको बीचमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फाइल पनि छ, जसमा एउटा १२ लाखको जीवन बिमा र दुई वटा ४/४ लाख रुपैयाँको जीवन बिमा गरिएको देखिन्छ । आफूले जम्मा गरेको रकमबाट कसरी जीवन बिमा भयो भन्नेबारे जैनव बेखबर देखिन्छिन् ।
जैनव जस्तै प्रहरी कार्यलय धाइरहेकी छन्, लुम्बिनी सांस्कृतिक नगरपालिका–२ की मन्जु लोध । १४ र ९ वर्षकी दुई छोरी माइतीमा छाडेर न्यायका लागि दौडीरहेकी एकल महिला मन्जु प्रहरीमा धाउनुको कारण पनि जैनवकै जस्तो छ । कतारबाट मजदुरी गरेर फर्केलगत्तै श्रीमान् बितेपछि उनले पाएको क्षतिपुर्ती र बिमा रकम १८ लाख रुपैयाँ उनले माछापुच्छ्रे बैंकले खोलेको काउन्टर जम्मा गरेकी थिइन् । पतिशोकमा रहेकी मन्जुलाई घरमै आएर काउन्टरका प्रतिनिधि रमेशले रकम जम्मा गर्न लगाएका थिए ।
‘घरमा आएर धेरै कागजातमा हस्ताक्षर गराए,’ निरक्षर उनले भनिन्, ‘बैंकमा रकम जम्मा हुन्छ भने, पीडामा रहेकाले धेरै सोधखोज गर्न सकिनँ ।’ पछि उनले थाहा पाइन्, जम्मा गरिएको रकममध्ये ५ लाखको भने जीवन बिमा गरिएको रहेछ । उनीसँग भएको बैंकको कागजातमा प्राइम शुभलाभ (एकल तथा निश्चि अवधि भुक्तानी सावधिक) जीवन बिमा लेखिएको छ । उक्त कागजातमा बिमा गराउने अधिकारप्राप्त अधिकारीको स्थानमा प्राइम लाइफका उपशाखा प्रमुख सन्तोष अर्यालको हस्ताक्षर छ । मन्जुले चौहान आफैं बिमा कम्पनीको एजेन्ट भएर काम गरेको पछि मात्रै थाहा पाइन् ।
चौहानले बिमा कम्पनीको एजेन्ट भएर कैयौं स्थानीयलाई थाहै नदिई उनीहरूको जीवन बिमा गरिदिएका छन् भने कैयौंको बचत रकम नै हिनामिना पारेको देखिन्छ । बिमा गरिएको ५ लाख रुपैयाँबाहेक १३ लाख रुपैयाँको हिसाब नपाएपछि यतिबेला मन्जु १४ र ९ वर्षकी छोरीलाई माइतमा राखेर न्यायका निम्ति अनेकतिर धाइरहेकी छन् ।
बचत रकमको खोजीमा प्रहरीकहाँ पुग्नेहरूलाई चौहानले भने धम्काइरहेको पीडितहरूको आरोप छ । प्रहरीमा रकम हराएको निवेदन दिएपछि चौहानले आफूलाई धम्क्याएको जैनवले बताइन् । ‘अहिले पुलिसमा निवेदन दिएर के हुन्छ, पछि मेरो खुट्टामा ढोग्नुपर्छ भन्यो,’ उनले भनिन्, ‘पुलिसमा किन निवेदन दिएको भनेर धम्क्यायो ।’
मन्जु र जैनवले जस्तै स्थानीय धेरै महिलाले बैंकमा रकम जम्मा गरेको देखिन्छ । दसम्मरीमाई–२, कै शुभावती बरईले गाउँमै ‘बैंक’ खुलेपछि ज्याला मजदुरी गरेर जुटाएको ५ लाख ६५ हजार रुपैयाँ दुई वर्षअघि उक्त काउन्टरमा जम्मा गरेकी थिइन् । यसरी रकम जम्मा गरेपछि चौहानले सर्वसाधारणलाई बैंकको भौचरको साटो कागजको ‘स्लिप’ दिने गरेका थिए ।
शुभावतीका पतिको ६ वर्षअघि भारतमा रहेका बेला मृत्यु भएको थियो । त्यसपछि भविष्यमा छोराछोरीको पढाइमा सजिलो होला भनेर शुभावतीले बैंकमा रकम जम्मा गरेकी थिइन् । तर रकम जम्मा गर्ने चौहान गाउँबाट फरार भएको जानकारी पाएपछि उनी झसंग भइन् । चौहान भागेको गाउँमा हल्ला भएपछि शुभावतीले इलाका प्रहरीमा पुगेर रकम फिर्ता गराइदिन निवेदन दिइन् । ‘परिवारमा ६/७ जना छौं,’ उनले भनिन्, ‘भएको बचत रकम गायब भयो, अब कसरी परिवार धान्ने चिन्तामा छु ।’
माछापुच्छ्रे बैंकले ग्रामीण क्षेत्रमा सेवा पुर्याउन सञ्चालन गरेको शाखारहित बैंकिङ सेवाका प्रतिनिधि बनेका चौहानले सर्वसाधरणबाट रकम ठगी गरेको देखिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले जनाए । ‘सर्वसाधारणले काउन्टरमा रकम जम्मा गर्थे,’ उनले भने, ‘चौहान आफैंले काठमाडौं र भैरहवा लगेर खाता खोल्ने भन्दै सबै डकुमेन्ट आफैंले राख्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’ कतिपय पीडितको विदेशबाट आएको क्षतिपूर्ति रकमले सम्बन्धित व्यक्तिलाई जानकारी नदिई बिमा गरेको पाइएको उनले बताए । ‘बिमा भएको कागजात छ,’ आचार्यले भने, ‘बिमा भएको देखिन्छ, तर खातामा पैसा छैन ।’
सर्वसाधारणको विदेशबाट आएकोदेखि यहाँ जेथा बिक्री गरेर जम्मा गरेको रकम हिनामिना भएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालयमा बुधबारसम्म ७२ जना पीडितले निवेदन दिएका छन् । दैनिक उजुरी लिएर पीडित आउनेक्रम जारी छ । अहिलेसम्म प्राप्त उजुरीका आधारमा १ करोड ४० लाख रुपैयाँ हिनामिना भएको देखिएको प्रहरी निरीक्षक आचार्यले बताए । थप निवेदन आएपछि मात्रै कति रकम हिनामिना भएको छ यकिन गर्न सकिने उनले जनाए ।
माछापुच्छ्रे बैंकले गत असार २ मा प्रेस विज्ञप्ति जारी गरेर शाखारहित बैंकिङ सेवाका व्यावसायिक प्रतिनिधिले बैंकले प्रदान गरेको प्रविधिको प्रयोग गरेर सीमित कारोबारका लागि मात्र अधिकार प्राप्त गरेको जनाएको छ । ‘शाखारहित बैंकिङ सेवा मेसिनमा आधारित र ग्राहकको औंठाछापका आधारमा गरिने कारोबार हो,’ बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यसमा बैंकले कुनै भौचर अथवा अन्य कागजात दिँदैन ।’ प्रारम्भिक अध्ययनमा बैंकले नभई व्यावसायिक प्रतिनिधि तोकिएका चौहान र सर्वसाधारणबीच आर्थिक लेनदेनको समस्या देखिएको बैंकका सूचना अधिकारी सुनील खतिवडाले जनाए । ‘यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘प्रहरीले गर्ने अनुसन्धानमा सघाउन हामी तत्पर छौं ।’
सर्वसाधारणको उजुरीपछि प्रहरीले गत जेठ २८ मा चौहानविरुद्ध ठगी मुद्दा दर्ता गराएको रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जनाए । लगत्तै असार ३१ मा चौहानलाई पक्राउ गरेर रकम हिनामिनाको अनुुन्धान गरिरहेको राठौरले बताए । ‘अहिले चौहान इप्रका मर्चवारको हिरासतमा छन्,’ उनले भने, ‘उनीविरुद्ध साढे २ महिनाअघि नै रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीले पक्राउ गरेर काठमाडौं पठाएको थियो ।’ त्यहाँबाट १५ हजार धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि रकम हिनामिना गरेको उजुरी परेको थियो । सुरुमा सर्वसाधारणलाई विदेश पठाउने भन्दै ठगी गरेको उजुरी परेको थियो । अहिले सर्वसाधारणको धेरै रकम हिनामिना गरेको देखिएपछि प्रहरीले अदालतबाट म्याद थप गराएर संगठित अपराध मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्