समाचार

पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे



काठमाडौँ, २८ साउन । पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा  वृद्धि भएको छ ।

सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१  मा  करिब  एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार सरकारी स्वास्थ्य संस्थाबाट मात्र नौ सय सात जनाले गर्भपतन सेवा लिएका थिए ।  यसैगरी जिल्ला सदरमुकाम कुश्मामा रहेको मेरी स्वास्थ्य सेवा क्लिनिकका प्रमुख फूलमाया सापकोटाका अनुसार गत आव मा तीन सय ९० जनाले गर्भपतन सेवा लिएका थिए ।  जनस्वास्थ्य अधिकृत पिसीका अनुसार सोही आवमा सरकारी स्वास्थ्य संस्थामा छ सय २२ सुत्केरी भएका थिए ।  ती मध्ये दक्ष प्रसूतिकर्मीबाट तीन सय ९१, दक्ष स्वास्थ्यकर्मीबाट एक सय ३२, अन्य स्वास्थ्यकर्मीबाट ९१ र घरमा तथा स्वास्थ्यचौकी जाँदै गर्दा बाटोमा गरी आठजना सुत्केरी भएका थिए  ।

सोही अवधिमा औषधि सेवन गरेर सात सय छजनाले र सामान्य शल्यक्रियामार्फत दुई सय एक जनाले सरकारी स्वास्थ्य संस्था र दुवै विधिबाट गरी मेरी स्वास्थ्य सेवा क्लिनिकबाट तीन सय ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका  थिए  । असूचिकृत स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन कति जनाले गराए भन्ने यकिन जानकारी जिल्ला स्वास्थ्य कार्यालयमा छैन ।  पर्वत अस्पतालको तथ्याङ्कअनुसार गर्भवती भएपछि पहिलोपटक परीक्षण गर्न स्वास्थ्य संस्थामा पुगेका महिलाको सङ्ख्या गत आवमा एक हजार एक सय १८ छ ।