काठमाडौँ, २९ साउन । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरे ।
उनले भने, ‘बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको छ । मैले त्यसअघि नै भन्दै आएको छु । सत्ता र शक्तिमा बस्दा जे गर्दा पनि हुन्छ । सत्तामा बसेर मात्र जोगिन्छु भन्ने कुराबाट होसियार हुनुहोस्,’ ‘ बंगलवादेशको बाढी नेपालमा पस्ला होस् गरौँ ?’
उनले नेताहरूप्रति नेपाली जनतामा व्यापक आक्रोश रहेको तर अहिले युवा नभएकाले आन्दोलन पनि नहुने बताए । ‘सडक आन्दोलन गर्नेहरू विदेश गएकाले अहिले भाग्यले साथ दिएर सडकमा आन्दोलन गर्ने विद्यार्थी छैनन्,’ उनले भने, ‘अव अहिले शासकहरूलाई सौभाग्य ठुलो सङ्ख्यामा विदेशमा भएकाले तत्काल बंगलादेशको अवस्था आउन छैन । तर यस्तै रहे कुनै दिन हुनसक्छ ।’
प्रतिक्रिया दिनुहोस्