राजनीति

सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का



काठमाडौँ, १ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताए । मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताए ।

मन्त्री खड्काले भनेका छन्, “प्राधिकरणले पछिल्लो समयमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा राम्रो प्रगति हासिल गर्दै आए पनि आम उपभोक्तालाई नियमित र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्न एवं जनतालाई विनाझन्झट छिटोछरितो रुपमा सेवा दिनेतर्फ प्राधिकरणले जिम्मेवार भई काम गर्नुपर्ने देखिएको छ ।”

मन्त्री खड्काले प्राधिकरणले मुलुकभर सस्तो र भरपर्दो विद्युत् सेवामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दै प्राधिकरणले लिएको लक्ष्य हासिल गर्न सरकारकोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ऊर्जा क्षेत्रको विकासका लागि आगामी वर्षलाई थप उपलब्धिमूलक वर्षका रुपमा बनाउन थप समर्पण र उपलब्धिका लागि प्राधिकरणको सिङ्गो टोली लाग्ने मन्त्री खड्काको विश्वास छ । आगामी दिनमा प्राधिकरणले ऊर्जा मिश्रणको नीतिलाई आत्मासात् गर्दै सोही अनुकूलको आयोजना निर्माण गर्न र विशेषगरी ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहलकदमी लिने उनले उल्लेख गरे।