काठमाडौँ, ३ भदौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।
आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले पछिल्ला दिनहरूमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताएका हुन् ।
उनले भने, ‘आर्थिक क्षेत्रमा केही सकारात्मक पहलकदमी लिइएका छन् । सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरूले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरूले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशील तुल्याउन सकारात्मक सङ्केत गरेको छ । पछिल्ला दिनहरूमा प्रायः चर्चा हुने गर्छ, शेयर बजारको । काफी चर्चा हुने गरेको छ । यो चर्चाका निम्ति मैले केही भन्नु छैन । मैले यति मात्रै भन्न चाहन्छु, शेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौँ, शेयर बजार अर्थतन्त्रको ऐना हो । यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्दछ । यस हिसाबले सरकारले लिएका नीतिहरूका कारण शेयर बजार उत्साहित छ । हामी दिगो, स्थिर ढंगले शेयर बजारअघि बढेको देख्न चाहन्छौँ । त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रबन्ध, आवश्यक पर्ने संरचनागत प्रबन्ध, आवश्यक प्रविधिको प्रबन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु । शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रबन्ध, संरचनागत प्रबन्ध र कतिपय प्रविधिको पनि प्रबन्ध गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ । इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव दिनुभएको छ । यसमा हाम्रो गम्भीर ध्यान छ ।’
प्रतिक्रिया दिनुहोस्