राजनीति

वर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ : मन्त्री गुरुङ



काठमाडौँ, १५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन् ।

आज बिहान पोखरामा पत्रकारहरुसग कुराकानी गर्दै उनले अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै र समीकरण भत्किने कारण नभएको बताए ।

उनले भने, ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन ।’

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताए । उनीहरूबीच नै फाटो आउनसक्छ कि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने दाबी गरे ।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ सम्मै टिक्ने संकेत गरेको बताए ।