Banner News

मधेस अझै अधिकार सम्पन्न भएको छैन : अध्यक्ष यादव



जनकपुर, १६ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकारका लागि मधेसी जनता अझै पनि तत्पर रहनुपर्ने आवश्यकता औँल्याएका छन् ।

जसपा नेपालको मधेस प्रदेश कमिटीले जनकपुरधाममा शनिबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मधेस अझै पनि अधिकार सम्पन्न हुन नसकेकाले विभिन्न रूपमा आन्दोलन जारी राख्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । अध्यक्ष यादवले मेचीदेखि महाकालीसम्मका मधेसी जनताले आगामी दिनमा मतको लडाइँसमेत लड्नुपर्ने बताए ।  तथापि अब आगामी दिनमा अहिलेको आठ जिल्लाको मधेसलाई समग्र मधेस प्रदेशका लागि मधेसी जनताले मतको लडाइँ लड्न बाँकी रहेको उनले उल्लेख गरे ।

आठवटा जिल्लामात्र मधेस नरहेको उल्लेख गर्दै नेता यादवले अबको लडाइँ आन्दोलनबाट नभई मतको लडाइँ गर्न तयारी थाल्नुपर्ने आवश्यकता औँल्याए । यता अभिमुखीकरण कार्यक्रममा आठ वटा जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अध्यक्ष यादवले भने, “अन्तरिम संविधानमा लेखिएको छ, मधेस प्रदेशसहितको अन्य प्रदेश तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।”