झापा, १६ भदौ । नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् ।
गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् ।
झापा गाउँपालिका–२ का अध्यक्ष हिमाला चम्लागाईँले पालिकाको खाता समयमै सञ्चालन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको बताए । यसैगरी विभिन्न स्थानीय तहका कर्मचारीले बर्खाको बेला सञ्चालन हुने बोटबिरुवा वितरण, वृक्षारोपणलगायत कार्यक्रम बैंक खाता सञ्चालन नहुँदा बजेट अभावले गर्न नसकिएको गुनासो गर्ने गरेका छन् ।
कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भने, “नीति कार्यक्रम र बजेट गाउँ–नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।”
प्रतिक्रिया दिनुहोस्