Banner News

७९ मा झिल्को बन्यौँ, ८४ मा राँको बनेर आउँछौँ : सभापति लामिछाने



सुर्खेत, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी राँको बनेर आउने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले रास्वपा सकिन्छ भन्ने नसोच्न चेतावनी दिए । कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनबाट जनताले केही पाउन नसक्ने भन्दै उनले बाँकी तीन वर्ष बाँडीचुँडी खाने मात्र भएको जिकिर गरे ।

‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव । ०७९ मा झिल्को बन्यौँ, ०८४ मा राँको बनेर आउँछौँ । अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुनेछैन । हदै भए, बाँकी तीन वर्ष बाँडीचुँडी खानुहोला, ०८४ मा त घण्टी बज्छ–बज्छ ।’

उनले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘हुँदै नभएको प्रमाण १२–१४ महिना खोज्दा भेटेनन् । भेटेका भए किन छोड्थे ? अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन् । तर, सक्दैनन् । किनकि, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने ।