राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, १६ भदौ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

२३ साउन देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो । बैठक दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् । थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ ।

अर्का महामन्त्री विश्व प्रकाश शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ । १५औं महाधिवेशनको कार्यतालिका अर्को बैठकले निर्णय लिने र संविधान संशोधन मस्यौदा समिति बनाउने शीर्ष नेतामा मोटामोटी सहमति बनेको छ ।

शीर्ष तहमा टुंगिन बाँकी रहेका विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ । केन्द्रीय समितिमा बोल्न बाँकी पाँच जना मात्रै छन् । सभापति शेरबहादुर देउवादुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धारणा राखेपछि निर्णयहरु पारित गर्दै बैठक सकिनेछ ।