समाचार

नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही



काठमाडौँ, १६ भदौ । पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ ।

जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए । फार्मेसी सञ्चालक उपस्थित नभई औषधि बिक्री गर्ने गरेको र बिलबिजक नराखेको समिता मेडिकललाई रु १० हजार जरिवाना गरिएको छ ।

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।