समाचार

आज कुशे औंसी, बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै



काठमाडौँ, १७ भदौ । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ ।

आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् ।

भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ ।

कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् । बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन् ।