Banner News

अध्यक्ष प्रचण्डद्वारा संविधानविपरीत अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न आह्वान



काठमाडौँ, २० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् । 

सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

उनले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’