राजनीति

मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छ : उपराष्ट्रपति



काठमाडौँ, २१ भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । हरेक वर्षको भाद्र शुक्ल पक्षको तृतीयामा मनाइने यो पर्व हाम्रो धार्मिक श्रद्धा र पति–पत्निको प्रेमलाई प्रगाढ बनाउने त्योहार भएको उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले चौरचन पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्वभाव र प्रेमभाव अभिवृद्धि गर्न सघाउने उल्लेख गर्दै धार्मिक मान्यताअनुसार भाद्र महिनाको शुक्ल पक्षको चतुर्थीमा चन्द्रमाको पूजा गर्दा साधकरश्रद्धालुलाई शारीरिक र मानसिक कष्टहरुबाट मुक्ति प्राप्त हुने बताएका छन् । साथै चन्द्र दोष समाप्त हुने र घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रही आएको छ ।