राजनीति

ल्याब टेस्ट नगरी खाद्य सामग्रीलाई बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर : सभापति खान



भक्तपुर, २१ भदौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवम् जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने बताएका छन् ।

नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा आयोजना गरेको “अस्वभाविक मूल्य वृद्धि/कालोबजारी र बजार अनुगमन विषयक” अन्तरक्रिया कार्यक्रममा सभापति खानले भने, “नेपालमा भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट हुँदैन । ७० प्रतिशत आयात भारतसँग गर्ने भएपनि कुनै पनि नाकामा कतै ल्याब टेस्ट गरिदैन, र ल्याउँदा ल्याउँदै सामग्रीको मिति पनि सकिएको हुन्छ  ।”

खानले थपे, “ल्याब टेस्ट नगरी खाद्य सामग्रीलाई बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। बजारमा पाइने सामग्रीको गुणस्तर र मापदण्ड सुनिश्चित गर्न ल्याब टेस्ट अनिवार्य गर्नु पर्छ।” उनले यस समस्याको समाधान गर्न सरकार र सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आह्वान गरे।

कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य रेखा यादवले वर्तमान बजार अनुगमन प्रणालीमा सुधार गर्नुका साथै कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले कडा निगरानी र कारवाही गर्नुपर्ने बताइन्।

भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बजार अनुगमनमा प्राविधिक र व्यवस्थापकीय सुधारहरू लागू गर्दै उपभोक्ताको स्वास्थ्यको सुरक्षा प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रशासनले समय समयमा बजार अनुगमन गरिरहेको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले सार्वजनिक सेवाहरूको गुणस्तर बढाउन र उपभोक्ताको अधिकारको रक्षा गर्न नगरपालिकाले प्रयास गरिरहेको बताउँदै बजार अनुगमनमा सुधार आवश्यक रहेको बताए। उनले भने, “यसका लागि स्थानीय सरकारले मात्र गरेर नहुने भएकाले प्रशासन र अन्य सम्बन्धित निकायले समन्वय गरेर काम गर्न आवश्यक छ।”

कार्यक्रममा उपस्थित सबै अतिथिहरूले उपभोक्ताको हितमा प्रभावकारी बजार अनुगमन र कडा निगरानीको महत्त्वलाई स्वीकार गर्दै यस क्षेत्रमा सुधार ल्याउने उपायहरूमा विचार विमर्श गरेका थिए।