राजनीति

निजामति सेवा सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल



काठमाडौँ, २२ भदौ । मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

आज काठमाडौँमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले  
निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरु खडा भएको उल्लेख गरे । उनले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए ।

उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भूमिका रहेको बताए । उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले भने, ‘निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरु खडा भएका छन् । बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी छ ।’