राजनीति

अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री



काठमाडौँ, २२ भदौ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतङ्कवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायहरूबिच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । 

इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । 

गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताए । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उनले जोड दिए ।