राजनीति

फेरि एउटा सङ्घर्ष आवश्यक छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए ।  नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पुँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध सङ्घर्ष अपरिहार्य रहेको स्पष्ट गर्दै उनले विचार, राजनीतिक एजेन्डा र क्रान्तिकारी विरासतमा आफूहरू बलियो भएकाले सङ्घर्षमा विजय प्राप्त गरेरै छाड्ने बताए । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए ।

‘हामीले गरेको परिवर्तनकारी र बलिदानपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’– उनले भने– ‘तर, जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए ।