काठमाडौँ, २४ भदौ । सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति भएको छ ।
सहमतिसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगन गरिएको छ । पीडितका माग सम्बोधन गर्न कार्यदल बनाउने सहमतिसँगै उनीहरूका आन्दोलन फिर्ता भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको सचिवालयले जानकारी गराएको छ ।
उक्त मन्त्रालय र सहकारीका पीडित बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो । सहमतिसँगै सहकारी विभागका उपरजिस्ट्रारको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्यसचिव र प्रदेश र स्थानीय तहबाट एक/एक प्रतिनिधित्व रहने गरी कार्यदल गठन गरिएको हो ।
मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, पूर्वआईजीपी एवं सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सल्लाहकार सर्वेन्द्र खनाल, सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे, सहसचिव मदन कोइराला, बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ केसीलगायत व्यक्तिले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्