अर्थ

निर्यात बढाउन भन्साररहित सुविधा आवश्यक: अध्यक्ष ढकाल



काठमाडौँ, २५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात थप बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन् ।

महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–अमेरिका व्यापार, लगानी अवसर र चुनौती’ विषयक कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को बैठक महत्त्वपूर्ण रहेको उनको धारणा छ ।

निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले बताए । अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको भनाइ छ ।