Banner News

संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु नागरिकको दायित्व हो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन् ।

आज माओवादी केन्द्र मिर्चैया नगर समितिले सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै उनले जनताको संघर्षका बलमा जारी संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु नागरिकको दायित्व भएको बताए ।

०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिका रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकामा उनले जनतालाई धन्यवाद दिए । उनले संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ, सहयोग आवश्यक हुने बताए ।

मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको उनले स्मरण गरे । संविधानले उत्पीडित समुदायको अधिकार निश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि उनले बताए ।

“जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ,” उनले भने, “संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ । अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ । यसमा जनताको साथ, सहयोग अपरिहार्य छ ।”