अर्थ

चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटको सुविधा



काठमाडौँ, २६ भदौ । सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को सोमवारको बैठकले साल्ट ट्रेडिङ  कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने सुविधा दिने निर्णय गरेको हो ।

उद्योगी–व्यवसायीले चाडपर्वमा अभाव सिर्जना गराई चिनीमा मनोमानी मूल्य लिने सम्भावना देखिएपछि भन्सार छुट दिएर आयात गर्ने निर्णय भएको सरकारले जनाएको छ । अब चाडपर्वमा चिनीको अभाव नहुने र महँगो पनि नपर्ने सरकारले दाबी गरेको छ ।

चिनी आयातमा अहिले ३० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ । सरकारले दुवै संस्थालाई १५–१५ हजार टनका दरले चिनी आयात गर्ने कोटा दिएको छ । दशैँ र तिहारका लागि मात्र २५ हजार टन चिनी आवश्यक पर्ने अनुमान सरकारको छ ।

दुवै सङ्ख्याले कोटाअनुसार चिनी आयात गरेमा बजारमा अभाव नहुने सरकारको भनाइ छ । बजारमा अहिले चिनीको भाउ महँगिएको छ । केही हप्ताअघिसम्म किलोको ९० रुपैयाँ रुपैयाँ पाइने चिनीको भाउ अहिले एक सय २० रुपैयाँसम्म पुगेको छ ।