काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
ओलीले बुधबार बोलाएको बैठक पूर्वतयारी नभएको कारण देखाएर शुक्रबारलाई सारेका हुन् । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
यसअघि न्यायपरिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतसहित ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । न्यायपरिषद्ले वरीयताअनुसार राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाएको हो । वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश नियुक्ति गर्ने परम्परा अहिलेसम्म कायम छ ।
प्रतिक्रिया दिनुहोस्