राजनीति

बानेल साहलाई पक्राउ गर्ने दिन आउन सक्छ: नेता बस्नेत



भक्तपुर, २९ भदौ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी चिन्ह गाईलाई लगाउने नभई गधालाई लगाउने घण्टीमात्र भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार अखिल नेपाल महिला संघ भक्तपुरको सातौं अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले रवि लामिछानेले अन्तर्राष्ट्रिय ग्राण्ड डिजाईनमा नेपालको अर्थतन्त्रलाई तहनहस पार्ने गम्भीर खेलमा रहेको उल्लेख गर्नुभयो । त्यस्ता पपुलिष्ट शक्तिहरुको विरुद्धमा एमालेका कार्यकर्ता लाग्नुपर्ने उल्लेख गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले लौरो र घण्टीको अस्थित्व समाप्त हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नवउदारवादी तथा पपुलिष्ट शक्तिहरु कोही घण्टी त कोही लौरो बोकेर आएका छन् । जसमा घण्टीको अस्थित्व समाप्त भयो जस्तो छ । मनमोहन अधिकारीले सहकारीको नीति ल्याउनुभयो । आज देशभर सोही ढंगले अगाडी बढिरहेको छ । सहकारी समाप्त पार्न को आयो ? एउटा गित खुब चलेको छ, ‘राई माइलाले गाउँ छोड्यो ।’ एउटा राई माईलाले गाउँ छोड्यो, अर्को दाई माइलाले सहकारी दोहन । त्यो दाई माइलोलाई साथ दिने रवि लामिछाने आयो । यी राई माइला र दाई माइलाले सारा सहकारी समाप्त पार्ने र गरिब जनताको आँशुमा पौडी खेल्ने प्रयसा गर्दैछन् । अमेरिकी नागरिकता बोकेको, दुई वटा पासपोर्ट बोक्नेले अन्तर्राष्ट्रिय मिसनमा सहकारीलाई समाप्त पार्ने ग्राण्ड डिजाईनमा लागेका छन् । विदेशीको इसारामा कुदेको छ । अहिले जनताले बुझ्दैछन्, यो त गाईको घण्टी हैन रहेछ, गधाको घण्टी पो रहेछ भनेर ।’

समाजलाई अभ्य र असामाजिक हुन रोक्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले विकृत मानसिकता भएका व्यक्ति वा समुहलाई सचेत नागरिकले आफ्नो शिक्षा, दिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभ्य बनाउनुपर्छ, विकृत मानसिकता भएका मानिसलाई सम्झाई बुझाई गर्नुपर्ने, नमानेमा कानुनी कारवाही गर्नुपर्छ ।’ कि रेखा शाहलाई पक्राउ गर, नत्र मलाई पक्राउ गर भन्ने काठमाडौँका मेयर बालेन शाहलाई नेता बस्नेतले भन्नुभयो, ‘रेखा शाहलाई हैन, तिमी जस्ता अपराधिक र असभ्यलाई समाउने दिन आउँछ । यो मेरो भविष्यवाणी हो । पातलो साहलाई मोटो शाह बनाएर म त महोत्तरीको साह हैन, नारायणहिटीकै शाह हुँ भनेर पूर्वराजाहरुको सन्तान हुँ भनेर नौंटंकी गर्नु पर्दैन ।’

राजनीतिक चेतना नभएको मानिसले नेतृत्व गर्दा आधारभुत तहका मानिसको पक्षमा काम नहुने उल्लेख गर्दै सत्य एक दिन स्थापित हुने, अराजक र भुइफुट्टाहरुको दिन समाप्त हुने दिन आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘महेश बस्नेत ढाड लुकाएर हिड्दैन, सत्यको पक्षमा उभिन्छ । ठिकलाई ठिक भन्छ, बेठिकलाई बेढिक भन्छ । सुकुम्वासी सारा पीडित, कवाडी व्यवसायी पीडित, व्यवसायी पीडित बनाएका छन् । तपाई हामी सवै गरिवका छोराछोरी हैन ? काठमाडौँमा धनीले मात्र बस्न पाउनुपर्ने, गरिवले नपाउने हो ? हाम्रा आमाहरुले हामीलाई मकै पोलेर खेतीपाती गरेर पढाउनु भएको हैन ? अनि मकै पोल्नेहरु लखेट्छ । चिया बेचेर जिवीकोपार्जन गर्न नपाउने ?

बालेनले एउटा पुलमा लगाएको लाइटले भक्तपुरमा एउटा ठूलो पक्की पुल बनाएको उदाहरण दिँदै नेता बस्नेतले बालेनको प्रत्येक कामहरुमा भ्रष्टाचार भएको दावी गर्नुभयो । ‘हामीले भक्तपुरमा दर्जनौं पुलहरु बनायौं । हामीले एभरेजमा एउटा पुल एक करोडमा बनायौं तर बालेनले काठमाडौँमा एउटा पुलमा लगाएको बक्ति एक करोडको रहेछ, त्यो पनि ६ महिना पनि टिकेन । १४ करोडमा बनाएको फुटपाट ४ महिनामा स्वाहा भयो । अनि उसका अपराध छोप्नलाई एमाले र केपी ओलीलाई विरोध गर्ने गरेका छन् । त्यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’

उत्तरा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ केन््रीय अध्यक्ष तथा एमाले पोलिटव्युरो सदस्य टुका हमाल, केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टरराई, गोविन्द दुलाल, अनुशासन आयोगका सदस्य विना बाँस्तोला, एमाले अध्यक्ष बचन देउजा लगायतका केन्द्र, प्रदेश तथा जिल्लाका नेता÷कार्यकर्ताको उपस्थिती रहेको थियो ।