राजनीति

सर्वोच्च अदालतको कारबाही लाइभ गर्न माग गर्दै रिट दायर



काठमाडौँ, ३० भदौ । सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । 

कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले प्रत्यक्ष प्रशारण गर्न माग गर्दै आज सर्वोच्च अदालतले दर्ता गरेको हो ।

रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ ।  न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए ।  

निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् ।  रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ। 

यी देशहरूको अनुभवले प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा जनताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढाएको देखाएको रिट निवेदकको जिकिर छ । निवेदकहरूले नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने माग राखेका छन्।