Banner News

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल



काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा भएर पयाप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको उल्लेख छन् ।

उनले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पयाप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा भनेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, “मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।”