राजनीति

त्रिविको ३० पदमा २५८ प्राध्यापकको आवेदन



काठमाडौँ, १ असोज । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् ।

८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो । समितिका सचिवालयहरूले सोमबार दिएको जानकारीअनुसार डिन, क्याम्पस प्रमुख, सहपरीक्षा नियन्त्रक, योजना र अनुसन्धानको निर्देशकलगायत ३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिएका हुन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न सबैभन्दा धेरै १३ जना प्राध्यापकले आवेदन दिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११–११ जनाको आवेदन परेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८–८ जना प्राध्यापकले दरखास्त दिएका छन् । व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ ।

त्यस्तै, पाटन संयुक्त क्याम्पस र भैरहवा क्याम्पस प्रमुख बन्न १३ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । पृथ्वीनारायण र रामस्वरूप रामसागर क्याम्पस जनकपुरको प्रमुखका लागि ९–९ जना प्राध्यापकले आवेदन दिएका छन् । सानोठिमी र सुर्खेत बहुमुखी क्याम्पस प्रमुखका लागि ८–८ जनाको आवेदन परेको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लागि ७, रत्नराज्य लक्ष्मी (आरआर) काठमाडौं र बुटबल बहुमुखी क्याम्पस प्रमुखका लागि ५–५ जनाले दरखास्त दिएका छन् ।

ललितकला क्याम्पस कीर्तिपुर, भोजपुर बहुमुखी क्याम्पस, सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा र विश्वभाषा क्याम्पस काठमाडौंको प्रमुखका लागि ४–४ जनाको दरखास्त परेको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ३, वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा २ सहित डोटी बहुमुखी र जुम्ला क्याम्पस प्रमुखका लागि १–१ जनाको मात्र दरखास्त परेको छ ।

त्रिवि परीक्षा नियन्त्रण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयसहित ६ जना सहपरीक्षा नियन्त्रकका लागि ६२ जनाले आवेदन दर्ता गराएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २ जना तथा क्षेत्रीय कार्यालयहरू विराटनगर, पोखरा, नेपालगन्ज र मधेश प्रदेश कार्यालयका लागि १–१ जना सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरिएको थियो । त्यस्तै, त्रिवि योजना निर्देशनालयको निर्देशक र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को अनुसन्धान निर्देशकका लागि ८–८ जनाको आवेदन परेको छनोट समितिले जनाएको छ ।