राजनीति

डिजिटल साक्षरता विकास गर्नुपर्नेमा मन्त्री भट्टराईको जोड



काठमाडौँ, १ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् । 

आज विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि डिजिटल साक्षरता विकास गर्नुपर्ने बताएकी हुन् ।

उनले अनुसन्धानलाई उत्पादनसँग जोडेर दिगो पूर्वाधारको विकास गर्नुपर्ने बताइन् । त्यसका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता हुने उनले बताइन् ।

विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको उनले बताइन् ।